पोखरा — पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरूषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बुधबार हार व्यहोरेसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ ।
तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपीएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनुपर्यो ।
हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौंथो सेट २३–२५ ले एपीएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपीएफले तेस्रो र चौंथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पुर्याए पनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपीएफले हार व्यहोर्नुपर्यो ।
हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगितबाट बाहिरिनेछ । यसअघि भएको खेलमा महिलातर्फ एपीएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
यस्तै बुधबार नै भएको खेलमा ट्राभल इन्क्व्यारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्व्यारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । बुधबारको अन्तिम खेल भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच जारी छ ।
