इलिमिनेटरमा न्यु डायमन्ड र पुलिसबीच प्रतिस्पर्धा हुने
पोखरा — पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा आयोजक टोलीले न्यु डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
योसँगै महिला टोलीतर्फ विजेता समूहबाट आयोजक टोली र एपीएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ ।
लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यु डायमन्डले पराजित समूहबाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार नै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटले पराजित गरेको थियो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र एपीएफबीच खेल जारी छ । त्यसपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
