आर्मीलाई हराएपछि महिला लिगको फाइनलमा पुलिस क्लब विभागीय प्रतिद्वन्द्वी एपीएफविरुद्ध भिड्दै
काठमाडौँ — नेपाल पुलिस क्लबकी गोलरक्षक उषा नाथ यस्तै एक मौकाको प्रतीक्षामा थिइन् । जतिबेला त्यो उनको पकडमा आयो, त्यसलाई मज्जाले सफलतापूर्वक छोपिन् । एन्फा महिला लिग फुटबलको चर्चा पछि हुँदा उत्कृष्ट गोलरक्षकको रूपमा उषालाई नै सम्झिने छ ।
कोही पनि खेलाडीका लागि फुटबलमा यस्तो अवसर जीवनमा एकैपल्ट मात्र आउँछ । जसले त्यसलाई दुई हातले आत्मसात गर्छ, त्यो नै नायक साबित हुने गर्छ । उषाले त्यस्तै काम गरेकी छन् ।
नेपाली महिला फुटबलबारे चर्चा गर्दा गोलरक्षकमा यति आउने नाम भनेकै कि त एन्जिला सुब्बा तुम्बापो हो, होइन भने अञ्जना रानामगर । त्यसपछि मात्र उषाको नाम आउँथ्यो । एक प्रकारले आफ्नो खेलजीवनमा अधिकांश समय उनी तिनै एन्जिला र अञ्जनाको छायाँमा रहिन् । तर अबदेखि सबैले याद राखे हुन्छ, उषा पनि कम्तीकी छैनन् । उनकै बहादुरीपूर्ण प्रदर्शनको मद्दतमा पुलिस क्लबले सोमबार प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । अनि उषाले अञ्जनाविरुद्धको व्यक्तिगत टाइब्रेकर भिडन्त पनि जितिन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेल टाइब्रेकरमा गएको थियो । त्यसमा उषा पूर्णतः हाबी रहिन् । उषाले आफ्नो खेलजीवनमा तीनपल्ट पेनाल्टी शुटआउट सामना गरेकी छन् । ती सबैमा हार बेहोर्नुपरेको छैन । माथिल्लो स्तरमा उषाले टाइब्रेकरमा पोस्ट सम्हालेको यो नै पहिलोपल्ट हो । ‘आफूलाई प्रमाणित गर्न म यस्तै अवसरको पखाईमा थिएँ,’ उनले प्रतिक्रिया दिइन्, ‘त्यसमा म सफल भएको छु, त्यसैले असाध्यै खुसी छु ।’
उषाले यो जितलाई आफ्नो खेलजीवनकै सबैभन्दा सुन्दर अवसर रहेको बताइन् र निकै भावनात्मक पनि रहिन् । प्रतियोगिताको क्वालिफायर–२ को निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको हो । यो धेरै हदसम्म नाटकीय रह्यो । उषाले टाइब्रेकरमा तीन बचाउ गरिन् । एक गोल पनि गरिन् । पुलिसबाट उषा र विर्सना चौधरीले गोल गरे । आर्मीका लागि अञ्जनाले मात्र गोल गर्न सकिन् ।
पुलिसबाट सम्झना लावती, समीक्षा घिमिरे र निरु थापा पेनाल्टीमा गोल गर्न असफल भए । आर्मीको तर्फबाट भने चन्द्रा भण्डारी, अनिता रम्जेल र बिमला बिक गोल गर्न असफल रहे । उनीहरू सबैको प्रहार उषाले बचाएकी थिइन् ।
विमला चौधरीको प्रहार भने बाहिरियो । दुवै टिमका सुरुआती दुई प्रहार गोलमा परिणत भएको थिएन । त्यसमध्ये आर्मीकी अञ्जनाले दुवै प्रहार गोलमा परिणत हुन दिएकी थिइनन् । यस्तोमा आर्मीको एक कदम माथि थियो ।
ठीक यही बेला उषाले आर्मीबाट पहिलो गोल गरिन् । ठीक यहींबाट भाग्य पुलिसको पक्षमा मोडिएको थियो । ‘टाइब्रेकरमा म पुलिसलाई जसरी पनि जिताउने छु भन्ने आत्मविश्वासमा थियो । त्यसैले मैले आफ्ना खेलाडीलाई १ सय २० मिनेट रोकेर मात्र खेल, बाँकी काम मैले गर्नेछु भनेकी थिएँ,’ उषाले सुनाइन्, ‘म यो जितको श्रेय पूरा टिम र प्रशिक्षकलाई दिन चाहन्छु ।’ जितलगत्तै पुलिस टिममा अपार खुसीयाली देखिएको थियो । यसको केन्द्रमा उषा नै रहिन् ।
पुलिसका प्रशिक्षक भोलानाथ सिलवालले पनि उषाको मज्जाले प्रशंसा गर्दै जितको श्रेय उनैलाई दिए । ‘यो खेलको नायक उषा नै रहिन्, मलाई उनीप्रति पूरा विश्वास थियो ।’
पुलिसले यसपल्टको महिला लिग जसरी सञ्चालन भएको थियो, त्यस ढाँचाको भरपूर फाइदा लियो । महिला लिगमा पहिलो पटक प्लेअफ राखिएको थियो । लिग चरणमा पुलिस तेस्रो स्थानमा थियो, डिफेन्डिङ च्याम्पियन एपीएफ र आर्मीपछि । पुलिस वास्तवमै तेस्रो उत्कृष्ट टिममात्रै थियो ।
अब यही टिमले एपीएफविरुद्ध फाइनल खेल्नेछ । पुलिसले प्लेअफको इलिमिनेटरमा सबैभन्दा पहिले बागमती युवा क्लबलाई हराएको थियो, त्यो पनि अन्तिम क्षणको गोलले । अहिले क्वालिफायर–२ मा आर्मीको चुनौती समाप्त पारेको छ । ‘लिगमा हाम्रो प्रदर्शन उतारचढावपूर्ण रह्यो । केही खेलमा हाम्रो प्रदर्शन राम्रो रहेन । तर यो
खेल जितेपछि हामी फाइनल पुगेका छौं । प्रतियोगिताको स्वरूप नै यस्तै थियो र हामीलाई त्यसबाट फाइदा भयो,’ प्रशिक्षक सिलवालले सुनाए । फाइनल बुधबार हुनेछ ।
