काठमाडौँ — नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले एनआरटीलाई टाइब्रेकरमा पराजित गर्दै मंगलबार सभापतिकपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा बागमती टाइब्रेकरमा ४–२ ले विजयी रहेको हो ।
निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेपछि प्रतिस्पर्धा टाइब्रेकरमा प्रवेश गरेको हो ।
बागमतीका लागि त्यसमा नवीन लामा, फोडे फोफाना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे । एनआरटीका लागि भने अभिषेक लिम्बू र कृतिशरतन छुन्जुले मात्र गोल गरे । उसका सरोज तामाङको प्रहार बागमतीका गोलरक्षक विकेश कुथुले रोके । सुमित श्रेष्ठको प्रहार भने बाहिरिएको थियो । निर्धारित समयको खेलमा बागमतीले सुरुमै दुई गोलको अग्रता लिएको थियो ।
विजयी टिमका लागि सन्दीप कार्कीले ११ औं मिनेटमा पहिलो गोल गरे । लगत्तै १४ औं मिनेटमा सेनेगाकाइज एलेक्सले दोस्रो गोल थपे । दोस्रो हाफको सुरुमा एनआरटीका लागि कृतिशरत्नले पहिलो गोल फर्काए । उनले नै ६९ औं मिनेटमा दोस्रो गोल थपे ।
अब फाइनलमा बागमतीले संकटाको सामना गर्नेछ ।
