पोखरा — पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत मंगलबार पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबमाथि सानदार जित दर्ता गराएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पुलिसले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५–२२ को जित दर्ता गर्यो । तर, प्रतिस्पर्धात्मक भएको चौंथो सेटमा २५–२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता गर्यो । सुनिल क्लबले भने पहिलो हार चाखेको छ ।
मंगलबार नै यसअघि भएका महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र एपीएफ विजयी भएका थिए । पुलिसले ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ र एपीएफले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए । हाल पुरुषतर्फ गण्डकी प्रदेश र एपीएफ बीच प्रतिस्पर्धा भइरहेको छ ।
