टाइगर कप भलिबल : थाइल्यान्डको ट्राभल इन्क्व्यारीमाथि पुलिस हावी

माघ १४, २०८१

दीपक परियार

Tiger Cup Volleyball: Police dominate Thailand travel inquiry

पोखरा — एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा मंगलबार महिलातर्फ थाइल्यान्डको ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार व्यहोरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा ट्राभल इन्क्व्यारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो । 

पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौंथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो ।

पहिलो खेलमा टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको पुलिसले पहिलो जित निकालेको हो । ट्राभल इन्क्व्यारीले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । 

हाल पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबबीच खेल जारी छ । त्यसपछि गण्डकी प्रदेश र एपीएफले प्रतिस्पर्धा गर्ने छन् । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully