पोखरा — एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ)ले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेता समूह अन्तर्गत लिग चरणको खेलमा एपीएफले न्यु डायमन्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा जित निकाल्न सफल भयो ।
एपीएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् । खेलको बेस्ट स्पाइकर न्यु डायमन्डकी सलिना बुढामगर बनिन् । पहिलो चरणको खेलबाट विजेता समूहमा एपीएफ, न्यु डायमन्डसहित आयोजक टोली छन् ।
हाल महिलातर्फ पराजित समूहबाट थाइल्यान्डको ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
