काठमाडौँ — बार्सिलोनाले कमजोर भ्यालेन्सियालाई आइतबार स्पेनी ला लिगामा ७–१ ले पराजित गरेको छ र फेरि लिग उपाधि होडमा सामेल भएको छ । क्याटलान क्लबका लागि पहिलो हाफमा फेरमिन लोपेजले दुई गोल गरे ।
त्यसपछि फ्रेन्क डे जङ, फेरान टोरेस तथा राफिन्हाले एक एक गोल गरे र बार्सिलोना पाँच गोलले अगाडि रह्यो । ह्येगो डुरोले भ्यालेन्सियाका लागि एक गोल फर्काए । तर त्यसपछि रोबर्टो लेवनडोस्कीले बार्सिलोनाका लागि थप एक गोल गरे ।
अर्को गोल भने आत्मघाती रह्यो । यो जितपछि बार्सिलोनाको २१ खेलबाट ४२ अंक भएको छ र यो शीर्षमा रहेको रियल म्याड्रिडसँग सात अंकको दूरी हो । बीचमा एटलेटिको म्याड्रिड ४५ अंकमा दोस्रो स्थानमा रहेको छ ।
