काठमाडौँ — तेस्रो केपी ओली कप फुटबल प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी म्याक्समार्फत हुने भएको छ । फागुन ११ देखि १९ सम्म हुने प्रतियोगिता दशरथ रंगशाला त्रिपुरेश्वर र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुनेछ ।
प्रत्यक्ष प्रसारणका लागि कान्तिपुर मिडिया ग्रुप (केएमजी) का सीईओ महेश स्वाँर र आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कान्तिपुर टीभी म्याक्सले दोस्रो संस्करणको केपी ओली कपको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।
नकआउटका आधारमा हुने ठूलो पुरस्कार राशि रहेको प्रतियोगिताको सुरुआती खेल र क्वाटरफाइनल खेल सातदोबाटोस्थित एन्फाको मैदानमा हुनेछ । सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछ । तेस्रो संस्करणमा ए डिभिजन क्लबहरूसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रत्यक्ष प्रसारणलाई सम्झौता आदानप्रदान गर्दै केएमजी र आयोजक पदाधिकारी ।
