पोखरा — एनसेल पाँचौं टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबार पोखरा रंगशालामा सुरु भएको छ । महिलातर्फ एपीएफ क्लबले ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–२ को सेटमा पराजित गरेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु प्रतियोगितामा दुई सेट गुमाएको एपीएफ पुनरागमन गर्दै जित निकाल्न सफल भयो । दोस्रो खेलमा टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पनि ३–२ को सेटमा पराजित गर्यो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पियो । तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो बनायो । चौंथो सेटमा न्यु डायमन्डले २५–१८ ले जितेर खेल बराबरी बनायो ।
पाँचौं सेट न्यु डायमन्डले १५–१० ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । त्रिभुवन आर्मी र आयोजक टोलीबीचको तेस्रो खेल खराब प्रकाशका कारण स्थगित भएको छ ।
