एपीएफ फाइनलमा

महिला लिगमा उत्कृष्ट पुनरागमन रच्दै एपीएफले आर्मीलाई हराएको छ

माघ १३, २०८१

हिमेश

In the APF finals

काठमाडौँ — नेपाली घरेलु महिला फुटबलले पस्कन सक्ने यो नै सबैभन्दा उच्च दर्जाको फुटबल हो । रह्यो पनि । एपीएफले आफ्नो इतिहासकै उत्कृष्ट पुनरागमन रच्दै शनिबार एन्फा महिला लिगको फाइनल यात्रा तय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको क्वालिफायर–१ मा एपीएफले आर्मीलाई २–१ ले हराएको हो ।

 जितकी नायिका रहिन् फरवार्ड रश्मिकुमारी घिसिङ । प्रतियोगिताकी उच्चगोलकर्ता रहेकी रश्मिका दुई गोल सर्वाधिक महत्त्वको रहनेछ । 

‘यो खेल रोमाञ्चक रह्यो, सबैलाई खुसी बनाउने । हामीलाई यो खेल जित्नेमा आत्मविश्वास थियो, त्यसैले एक गोलले पछाडि छँदा पनि हामी आत्तिएनौं,’ एपीएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले भने । पूर्वराष्ट्रिय खेलाडी पाण्डेले खेलमा दबाब त हुने नै गर्छ, तर टिमलाई जित्छौं भन्ने नै आत्मश्विास रहेको बताए । उनले थपे, ‘दोस्रो हाफमा हामीले खेल रणनीतिमा केही परिवर्तन गरेका थियौं । त्यो भनेको अझ आक्रामक भएर खेल्ने ।’ 

उनको यो दाबीमा सहमत रहिन्, कप्तान अनिता बस्नेत । उनले भनिन्, ‘हामीलाई एक गोलले पछाडि रहँदा पनि दबाब थिएन । हामी आफू खेलमा फर्कन सक्ने सोचले खेलिरहेका थियौं ।’ खासमा एपीएफका खेलाडीको अनुभवले यो जित सम्भव भएको थियो । एक समय अनितासँगै उनका केही समकालीन खेलाडीको प्रदर्शनलाई लिएर प्रश्न उठेको थियो । तर, यसपल्टको लिगमा यी खेलाडीको यस्तो प्रदर्शन रह्यो, जसले फेरि साबित गरेको छ, नेपाली टिमलाई उनीहरूको आवश्यकता अझै छ । 

‘आलोचनाका बेला केही गाह्रो त भएकै थियो,’ अनिताले भनिन्, ‘यसै कारण हामीले अझ मिहिनेत गरेर खेलेका थियौं ।’ एपीएफले तय गरेको यात्रामा कप्तान अनिताको महत्त्वपूर्ण योगदान छ । उनले अधिकांश खेलको निर्णायक मोडमा आफ्नो सुझबुझपूर्ण खेल प्रदर्शन गरेकी छन् । उनले थपिन्, ‘हामी त लिगमा च्याम्पियन भइसक्यो भन्दा हुन्छ । हामीले ४९ अंक जितेका छौं । यो सबै अर्थमा ठूलो प्रदर्शन हो ।’ 

रश्मि निर्णायक

रोमाञ्चक खेलमा आर्मीले आठौं मिनेटमा अग्रता लिएको थियो । एपीएफकी गोलरक्षक सावित्री किसनले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बल हिमा चौधरीले सजिलै पोस्टका दिशा दिलाइन् । किसनकै भुलले यो गोल सम्भव भएको थियो । मैदानको मध्यभागभन्दा केही अगाडिबाट विमला चौधरीको प्रहारले दुईपल्ट बाउन्स लिँदै किसनसम्म पुगेको थियो । त्यसलाई उनले सजिलै नियन्त्रणमा लिन सक्नुपर्ने थियो । यी युवा गोलरक्षकका लागि यो ठूलो शिक्षा हुनेछ । 

यो अग्रतालाई आर्मीले ७८ मिनेटसम्म कायम राखेको थियो र टोली जिततर्फ अग्रसर देखिएको थियो । तर, रश्मिले १० मिनेटको अन्तरमा दुई गोल गरिन् र टिमलाई सनसनीपूर्ण जित दिलाइन् । उनले ७८ औं मिनेटमा पहिलो गोल गरेपछि खेल बराबरीमा पुग्यो । सुरुमा आर्मीकी गोलरक्षक अञ्जना रानागमरको ‘क्लियरेन्स’ कमजोर रह्यो । त्यसमै फर्केको बलमा रश्मिले भली प्रहार गर्ने अवसर पाइन् । त्यो प्रहार रोक्ने प्रयासमा अञ्जनाको हातमा छोएर बलले पोस्टको दिशा लिएको थियो । 

त्यसपछि रश्मिले ८८ औं मिनेटमा दोस्रो गोल थपिन् । यो नै अन्ततः निर्णायक साबित भयो । यो खासमा टिम गोल पनि रह्यो । सुरुमा अनिता केसीले बल अगाडि बढाइन् र रश्मिलाई पास दिइन् । रश्मिले प्रीति राईलाई बल दिइन् । प्रीतिले त्यसमै मीठो पास उपलब्ध गराइन् र रश्मिले सजिलै बललाई पोस्टतर्फ प्रहार गरिन् । यो गोलपछि एपीएफ खेलाडी, टिम र समर्थकमाझ खुसीको फोहरा छुटेको थियो । प्रीति ‘प्लेयर अफ द म्याच’ रहिन् । उनले खेलका क्रममा केही अवसरमा मीठो ‘ड्रिब्लिङ’ को नमुना पेस गरिन् । 

हार नखाने आर्मी

खेलको समाप्तिमा आर्मीका खेलाडी स्तब्ध जस्तै रहे । यो स्वभाविक थियो । आर्मीले अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा आर्मीको भेट पुलिस क्लबविरुद्ध हुनेछ । यसको अर्थ आर्मीसामु एक अर्को मौका छ फाइनल पुग्न । आर्मीका प्रशिक्षक कृष्णसिंह ठगुन्नाले आफ्नो टिमको हार पछाडि अनुभवकै कमी रहेको स्वीकारे । उनको आशय थियो, फुटबलमा अनुभवको ठूलो महत्त्व हुन्छ । उनका अनुसार यो खेल आर्मीका युवा खेलाडीका लागि शिक्षा हुनेछ । 

‘हाम्रो टिमका आधा खेलाडी नयाँ र अनुभवहीन छन् । जति खेलाडीमा यस्तो स्थिति सामना गर्ने अनुभव थियो, तिनले राम्रो गरे । नयाँ खेलाडीले सकेनन्,’ प्रशिक्षक ठगुन्नाले भने, ‘सायद हामीलाई आफ्नो खेल तिखार्न एउटा अर्को मौका प्राप्त भएको छ ।’ यस्तोमा प्रश्न थियो, के आर्मी फाइनल पुग्ने छ त ? प्रशिक्षकले भने, ‘फुटबलमा नतिजा यस्तै हुन्छ भनेर भन्न सकिन्छ, तर आर्मी टिमले कहिल्यै हार खाँदैन, हामीले कहिल्यै पनि आस मार्दैनौं ।’

हिमेश

Link copied successfully