काठमाडौँ — नेपाल राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा शनिबार युरोपमा खेल्ने दोस्रो खेलाडी बनेकी छिन् । उनले ग्रिसको माथिल्लो डिभिजनको निस अट्रोमिटौबाट डेब्यु गरेकी हुन् ।
त्यस अगाडि उनले कान्तिपुरसँगको कुराकानीमा आफ्नो उपलब्धिमा खुसी र गर्व व्यक्त गरेकी थिइन् । उनले भनेकी छिन्, ‘युरोपमा खेल्न पाउँदा म असाध्यै खुसी छु र यसले मेरो खेल अझ माथिल्ला स्तरको हुनेछ ।’
अञ्जिलाले ग्रिसमा व्यावसायिक फुटबल खेल्नका लागि अघिल्लो दिन मात्रै खेल्ने आधिकारिक अनुमति प्राप्त गरेकी थिइन् । यसअघि सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी थिइन् ।
यसअघि भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी अञ्जिला नेपालमा भने एपीएफसँग आबद्ध छिन् । उनले भारतको सेथु एफसी र पाकिस्तानको मासा युनाइटेडबाट खेल्ने क्रममा टिमको कप्तानी पनि गरेकी थिइन् ।
ओहविरुद्धको खेलमा निस ४–० ले भने पराजित रह्यो ।
