काठमाडौँ — धनगढी वाइल्डक्याट्सले शनिबार हिमालयन रेइडर्सलाई ३ अंकले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) प्लेअफमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा धनगढीले हिमालयनलाई ४१–३८ ले पराजित गरेको हो ।
जितसँगै चौथो स्थानको धनगढीले ५ खेलबाट ११ अंक पुर्याएको छ । समान खेलबाट ६ अंक जोडेको हिमालयन भने प्रतियोगिताबाट बाहिरिएको छ । यो खेलपछि प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा भएको छ ।
जनकपुर नाइट्स, काठमान्डु माभरिक्स र विराटनगर ब्यान्डिट्सले शीर्ष तीनमा रहँदै यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन् ।
