अर्जुन ट्रर्फी प्रतियोगिता : कुशल भूर्तेल डडेलधुरा टिममा अनुबन्धित

माघ १२, २०८१

अर्जुन शाह

Arjun Trophy Tournament: Kushal Bhurtel signed for Dadeldhura team

धनगढी — धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भूर्तेलले डडेलधुराको फेन्ड्स क्लबबाट खेल्ने भएका छन् । माघ १९ देखि २८ सम्म प्रतियोगिता आयोजना हुन गइरहेको छ ।

प्रतियोगिताका सबै खेल प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको आयोजकले जनाएको छ । 

कुशललाई मैदान उतार्दै डडेलधुराले धनगढीविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै माघ २१ मा वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ मा घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ । लिग चरणका सबै खेलमा डडेलधुराका लागि प्रमुख तथा गेम चेन्जर खेलाडीका रूपमा कुशल भूर्तेल रहनेछन् । 

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताका सबै खेल फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । 

स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीका रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully