दसौँ राष्ट्रिय खेलकुद : तयार भयो कर्णाली प्रदेश रंगशाला 

माघ ११, २०८१

कृष्णप्रसाद गौतम

Tenth National Games: Karnali State Stadium is ready

सुर्खेत — आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश रंगशाला तयार भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार झन्डै ९९ प्रतिशत काम सकिएको रंगशालामा अब रंगरोगन र सरसफाइका काम मात्र बाँकी छन् ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्यस्थल रहेको रंगशालामा १० हजार दर्शक अट्नेछन् भने ‘फिफा मापदण्ड’ अनुसार निर्माण गरिएको फुटबलसहित १६ वटा खेल खेलाउन सकिनेछ । भीभीआईपी र भीआईपी प्यारापिटमा ४ हजार दर्शक बसेर हेर्न मिल्ने गरी रंगशाला बनाइएको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले बताए ।

‘अब सामान्य मर्मत सम्भार र सरसफाइको काम मात्र बाँकी भएकाले यसै महिनाभित्र रंगशाला हस्तान्तरण हुन्छ,’ उनले भने, ‘अहिले दसौँ राष्ट्रिय खेलकुदका लागि सबै पूर्वाधार र परिषद्को तर्फबाट गर्नुपर्ने तयारी पूरा भइसकेका छन् ।’ 

उनका अनुसार एथलेटिक्सका लागि ८ लेनको ४ सय मिटर ट्र्याक निर्माण भएको छ । पौडीका लागि स्विमिङ पुल बनिसकेको छ भने बास्केटबल, भलिबललगायतका खेलका लागि आउटडोर र इनडोर कोर्ट बनाइएको छ । कभर्ड हलमा पनि झन्डै १ हजार दर्शक अट्ने उनले जानकारी दिए । त्यस्तै बक्सिङ, तेक्वान्दो, उसु, कराते, ब्याडमिन्टनलगायत खेल पनि कवर्ड हलमा सञ्चालन गर्न सकिनेछ ।

९ बिगाहा क्षेत्रफलमा फैलिएको रंगशालाको २०७८ मंसिरदेखि निर्माण थालिएको थियो । अहिलेसम्म झन्डै डेढ अर्ब रुपैयाँ खर्च भइसकेको रंगशालाका लागि एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँमा एमएसिजिएसएल जेभीसँग सम्झौता गरिएको थियो ।

कम्पनीले  २०८१ वैशाख ११ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि कोरोना महामारीका कारण केही महिना लम्बिएको हो । रंगशालामा खुला पार्किङ, व्यावसायिक सटर, परिसरमा हरियाली बनाउनेलगायत काम पनि सकिएको परिषद्ले जनाएको छ । 

दसौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधारसहित बसोबास, स्वास्थ्य, सुरक्षा र स्थानीय यातायातको व्यवस्थापन तयारी अवस्थामा रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । प्रदेश राजधानी वीरेन्द्रनगरका होटलहरूमा दैनिक ३ हजार ५ सयको हाराहारीमा खेलाडीको बसोबासको व्यवस्थापन हुने उनको भनाइ छ ।

मन्त्री भण्डारीले राष्ट्रिय प्रतियोगिताका ३५ मध्ये २४ खेल कर्णालीमा खेलाउन सकिने जानकारी दिए । सुर्खेतमा चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान र प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदानको निर्माण पनि सकिएको छ । हुम्ला हक्की मैदान तथा दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम र सल्यानमा रहेका कवर्डहलमा पनि केही खेल खेलाउनेगरि तयारी गरिएको उनको भनाइ छ । 

दसौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रदेश सरकारले अन्य पूर्वाधारको कामलाई पनि तीव्रता दिएको छ । मुख्य रंगशालाको दुवैतर्फ र सहायक सडकहरू कालोपत्रे भइसकेको छ भने अन्य मैदानसम्म पुग्ने सडकको काम पनि धमाधम भइरहेको छ ।

पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर वीरेन्द्र शाहीका अनुसार रंगशाला नजिकैको धमलाचोकदेखि क्याम्पस चोकसम्म ८ करोड रुपैयाँमा ६ सय मिटर सडक कालोपत्रे गरिएको छ भने दैलेख रोडदेखि बसपार्कसम्म ६ सय मिटरमा पनि ८ करोडको बजेटमा कालोपत्रे गरिएको हो । गणेश चोकदेखि जिरो ड्याम खेलकुद मैदानसम्म पुग्ने ६ सय मिटर सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । 

उनका अनुसार ९ करोड रुपैयाँको लागतमा भइरहेको कालोपत्रको झन्डै ७० प्रतिशत काम सकिएको छ । सुर्खेत विमानस्थल हुँदै रंगशाला पुग्ने सडक निर्माणको काम पनि भइरहेको उनको भनाइ छ । प्रतियोगितालाई लक्षित गर्दै अन्य सडकहरूको पनि मर्मत र रंगरोगन भइरहेको उनले जानकारी दिए ।

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully