पोखरा — पहिलो दुई दिनको अग्रता कायमै राख्दै नीरज तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनले सूर्य नेपाल गल्फ टुर २०२४ २५ को चौथो प्रतियोगितामा जयराम श्रेष्ठलाई तीन स्ट्रोकले पछाडि पार्दै उपाधि हत्याए । नीरजले वेस्टर्न ओपन जितेको पहिलो पटक हो ।
दुई दिनको अग्रता गुम्न नदिएका नीरजले शुक्रबार अन्तिम दिन एक स्ट्रोकको अग्रतासहित खेल सुरु गरे । उनले समग्रमा १ अन्डर २०६ स्कोर गरे । उनले दिनको खेलमा ४ ओभर ७३ स्कोर गरे । दुई दिन नीरजलाई नजिकबाट चुनौती दिइरहेका भुवनकुमार रोक्का तेस्रो र सञ्जय लामा संयुक्त पाँचौं स्थानमा रहे ।
हिमालयन गल्फ कोर्समा ५४ होलको तीनदिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरले भाग लिएका थिए । कुल पुरस्कार राशि ८ लाख ८२ हजारमध्ये नीरजले १ लाख ५० हजार प्राप्त गरे । उनको करियरको यो तेस्रो उपाधि हो । यसअघि उनले गत वर्ष सूर्य नेपाल काठमाडौं ओपन र यस वर्ष वेस्टर्न ओपन जितेका थिए ।
शुक्रबार नीरजले उत्कृष्ट स्कोर निकाल्न सकेनन् । उनलाई अन्य गल्फरले चुनौती दिन नसक्दा ३ स्ट्रोकले उपाधि जितेका हुन् । पाँचौंदेखि सातौं होलमा बोगी खेपेका उनले फ्रन्टनाइन ३ ओभर ३७ खेले । यसपछि १० औं होलमा बर्डी प्रहार गरे पनि ११ र १८ औं होलमा १–१ शट खेर फालेर ब्याकनाइन १ ओभर ३६ मा सकेका थिए ।
इभन पार ६९ को कार्ड तयार पारेका जयराम समग्रमा २ ओभर २०९ सहित दोस्रो भए । उनले १ लाख जिते । भुवनले समग्रमा ३ ओभर २१० को स्कोर बनाए । ७ ओभर ७६ को प्रदर्शन गरेका उनले ७५ हजार पुरस्कार पाए ।
नेपाल नम्बर एक प्रो भुवन नगरकोटी २ अन्डर ६७ को स्कोर बनाएर समग्रमा ४ ओभर २११ सहित चौथो भए । उनले ६३ हजार प्राप्त गरे । समग्रमा ७ ओभर २१४ को स्कोरमा सञ्जय लामा, धन थापा, विष्णुप्रसाद शर्मा र रामे मगरले संयुक्त पाँचौं स्थानमा रहे । विष्णु र रामेले दिनको खेलमा ४ ओभर ७२ तथा सञ्जय र धनले ७ ओभर ७६ को स्कोर गरे । उनीहरूले जनही ४४ हजार ७ सय ५० रुपैयाँ पाए ।
१० ओभर २१७ सहित कृष्णमान राजबहाक र तोरणविक्रम शाही संयुक्त दसौं स्थानमा रहे । कृष्णले ६ ओभर ७५ र तोरणले ४ ओभर ७३ मा अन्तिम दिनको खेल टुंग्याए । दुवैले जनही ३३ हजार ५ सय प्राप्त गरे ।
एमेच्योरतर्फ सुरेश तामाङ विजेता भए । इभन पार ६९ को स्कोरमा समग्रमा ९ ओभर २१६ को नतिजा निकाल्दै सुरेशले सुमन परियारलाई २ स्ट्रोकले पछाडि पारे । समग्रमा ११ ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो भए । उनले ३ ओभर ७२ स्कोर गरे । दोस्रो दिनका लिडर सुन्दर राई ९ ओभर ७८ खेल्दै तेस्रो स्थानमा झरे ।
जयरामले पहिलो होलमा नै ट्रिपल बोगी प्रहार गरे । लगत्तै तेस्रो होलमा एक शट खेर फाले । छैटौं र नवौं होलको बर्डीले फ्रन्टनाइन २ ओभर ३६ मा पूरा गरे । यसपछि ब्याकनाइनमा चार बर्डी र दुई बोगी प्रहार गरे । १० औं होलमा बर्डी प्रहार गरे भने १२ औं होलमा बोगी सामना गरे । यसपछि १५ देखि १७ औं खेलमा लगातार तीन बर्डीको सफलता पाए । अन्तिम होलमा एक शट खेर फाल्दा ब्याकनाइन २ अन्डर ३३ मा सकेका थिए । यो सँगै उनी संयुक्त पाँचौंबाट दोस्रो स्थानमा उक्लन सफल भए ।
लगातार दुई दिन दोस्रो स्थानमा रहेका भुवनले फ्रन्टनाइन ५ ओभर ३९ र ब्याकनाइन २ ओभर ३७ मा सके । उनले दोस्रो र चौथो तथा यसपछि पाँचौंदेखि सातौं होलमा लगातार तीन बोगी हाने । ११ र १५ औं होलमा शट खेर फाले ।
विजेता सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले पुरस्कार प्रदान गरे । शनिबार प्रो–एम हुनेछ ।
