कबड्डी लिगमा विराटनगर प्लेअफतिर

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Biratnagar to playoffs in Kabaddi League

काठमाडौँ — विराटनगर ब्यान्डिट्सले हिमालयन रेइडर्सलाई पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) को प्लेअफ सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार पहिलो खेलमा विराटनगरले हिमालयनलाई  ३४–३० स्कोरले पराजित गरेको थियो । योसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको हो।

काठमान्डु माभरिक्स र जनकपुर नाइट्स एक खेलअगाबै प्लेअफमा पुगिसकेका छन् । अब एक टोलीले प्लेअफमा स्थान बनाउने छ । हिमालयनविरुद्ध रेडमा विराटनगरले १८, ट्याकलबाट ८, दुई अलआउटबाट ४ र बोनसबाट ४ अंक जोडेको थियो । हिमालयनले भने रेडबाट १४, ट्याकलबाट ९, एक अलआउटबाट २ र बोनसबाट ५ अंक जोडेको थियो ।

जनकपुर शतप्रतिशत जितसहित २० अंक जोडेर शीर्षस्थानमा छ । काठमान्डु र विराटनगरको समान १६ अंक छ । तेस्रो हार बेहोरेको हिमालयन ४ खेलबाट ६ अंक बटुल्दै पाँचौं स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully