गोरखा — सदरमुकाममा फागुन ७ गतेमा नवौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता फागुन १४ सम्म चल्ने आयोजक हरमटारी क्लबले जनाएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कारको रहेको हरमटारी क्लबका महासचिव किरण ढकालले बताए ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार, फेयर प्ले टिमले ३५ हजार पुरस्कार पाउनेछ । प्रतियोगिताका लागि २७ लाख ६० हजारको अनुमानित बजेट तय गरिएको छ ।
प्रतियोगितामा राष्ट्रिय स्तर र गोरखाका क्लबका खेलाडी आकर्षणको केन्द्रमा हुनेछन् । जिल्लाभित्र सक्षम र स्तरीय खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
