बागमतीलाई पन्छाउँदै पुलिस क्वालिफायर–टुमा

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Bypassing Bagmati in Police Qualifier-Two

काठमाडौँ — अमृता जैसीले खेल सकिन केही सेकेन्ड अगाडि गरेको निणार्यक गोलको मद्दतले पुलिसले बागमतीलाई १–० ले पराजित गर्दै शुक्रबार एन्फा वुमेन्स लिगको क्वालिफायर–टुमा प्रवेश गरेको छ । 

खेल बराबरीतर्फ अग्रसर रहेको बेला अमृताले हेडबाट दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरिन् । अब पुलिसले फाइनल प्रवेशका लागि क्वालिफायर–वानको विजेताको सामना गर्नेछ ।

क्वालिफायर–वान शनिबार हुँदैछ र त्यसमा डिफेन्डिङ च्याम्पियन एपीएफले आर्मीको सामना गर्दैछ । लिगको दोस्रो चरणमा पुलिस तेस्रो तथा बागमती चौथो स्थानमा रहेर इलिमिनेटरका लागि छनोट भएको थियो । 

एपीएफ भने पहिलो र आर्मी दोस्रो रहेको थियो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा अधिकांश समय बागमती हाबी रहे पनि त्यसको फाइदा लिन सकेन । उसका लगभग सबै आक्रमण पुलिसको आधा भागमा पुगेर फितलो सावित भएको थियो । पुलिसले भने खेलको अन्त्यतिर बागमतीमाथि दबाब सिर्जना गरेको थियो र त्यसकै फाइदा लिँदै अमृताले खेलको एक मात्र गोल गरिन् ।

कान्तिपुर

Link copied successfully