सुनसरी — धनकुटाको हाम्रो राजारानी भेट्रान क्लब पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापाको पूर्वेली भेट्रान क्लब बिर्तामोडमाथि २–० को जित निकाल्दै राजारानी फाइनलमा पुगेको हो ।
राजारानीलाई फाइनलमा पुर्याउन मित्र बस्नेत र सुजितकुमार राईले एक/एक गोल गरे । बस्नेतले खेलको २२ औं र राईले ३४ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच राजारानीका मित्र बस्नेत भए । उनलाई जिल्ला फुटबल संघ मोरङका उपाध्यक्ष प्रकाश मास्केले नगद २ हजार १ सय रुपैयाँ र टफी प्रदान गरे ।
राजारानीले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
