काठमाडौँ — सर्वाधिक पुरस्कार राशि रहेको सभापति कप फुटबल प्रतियोगिता दशरथ रंगशालामा बिहीबार सुरु हुनेछ । उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज र संकटा क्लब भिड्नेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगितामा ८ टिम प्रतिस्पर्धी छन् । बुधबार पत्रकार सम्मेलनमा सहभागी टिमहरूले लामो समयपछि दशरथ रंगशालामा हुन लागेको नकआउट फुटबलका लागि राम्रो तयारी भएको बताएका छन् ।
विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ । हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार पाउनेछ ।
