पोखरा — पुरै पोखराको मौसम बुधबार बिहानदेखि नै खुले पनि हिमालयन गल्फ कोर्समा भने हुस्सु तँछाडमछाड गरिरहेको थियो । जसका कारण टी–अफ हुन सकेको थिएन । तर, निर्धारित समयभन्दा झन्डै डेढ घन्टापछि मौसम खुल्दा गल्फरहरू माछापुच्छ्रे हिमालको मनमोहक दृश्यसँग सूर्य नेपाल वेस्टर्न ओपनलाई प्रतिस्पर्धा गर्न तयार थिए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिताको पहिलो दिन नीरज तामाङले दुई स्ट्रोकको अग्रता बनाए । उनले ४ अन्डर ६५ को स्कोरसहित युवराज भुजेल र भुवनकुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका छन् । २ अन्डर ६७ स्कोरका युवराज र भुवन संयुक्त दोस्रो स्थानमा छन् ।
धनबहादुर थापा र सञ्जय लामाले १ अन्डर ६८ मा दिनको खेल टुंग्याए । उनीहरू संयुक्त चौथोमा छन् । रामे मगर र जयराम श्रेष्ठ संयुक्त छेटौं रहे । उनीहरूले इभन–पार ६९ मा खेल टुंग्याए । प्रदीपकुमार लामा र एमेच्योर सुन्दर राईले १ ओभर ७० मा खेल पूरा गरी पहिलो दिन संयुक्त आठौं स्थान ओगटे । विष्णुप्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १० औं स्थानमा रहे । उनीहरूले २ ओभर ७१ खेले ।
इस्टर्न ओपन जितेका नीरजले पोखरामा पनि सुरुआत राम्रो गरे । उनले बोगीरहित फ्रन्टनाइन खेले । तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन २ अन्डर ३२ मा सके । यसपछि १५औं होलमा एक शट खेर फाले पनि १०, १३ र १६ औं होलको बर्डीले ब्याकनाइन २ अन्डर ३३ मा टुंग्याए ।
धरानका अर्का प्रो युवराजले फ्रन्टनाइनमा १ अन्डर ३३ को प्रदर्शन गरे । दोस्रो र तेस्रो होलमा बर्डीको सफलता पाए । पाँचौं होलमा डबल बोगी खेपे । यसपछि आठौं र नवौं होलमा १–१ शट बचाए । ब्याकनाइन उनले १ अन्डर ३४ मा सकेका थिए । १३ देखि १५ औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे । तर १० र १८ औं होलमा शट खेर फाले ।
भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मदतमा फ्रन्टनाइन २ अन्डर ३२ मा सके । यसपछि ११ औं होलमा डबल बोगी खेपे । १६ र १७ औं होलको बर्डीले ब्याकनाइन इभन–पार ३५ मा पूरा गरे । एमेच्योरतर्फ सुन्दर राई १ ओभर ७० सहित शीर्षस्थानमा छन् । उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे । सुरेशले पहिलो दिन २ ओभर ७१ स्कोर गरे ।
५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फर प्रतिस्पर्धी छन् । विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरले नगद हात पार्नेछन् ।
