एनकेएलमा धनगढी वाइल्डक्याट्सको जित

माघ ९, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई ५ अंक अन्तरले हराएर नेपाल कबड्डी लिग (एनकेएल) मा जित पाएको छ ।

राखेप कभर्डहलमा बुधबार धनगढी ३८–३३ ले विजयी भयो । पहिलो जित जित हात पार्नेक्रममा धनगढीले रेडबाट १७, ट्याकलबाट १४, अलआउटबाट ४ र बोनसबाट ३ अंक जोड्यो । पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, अलआउटबाट २ र बोनसबाट ५ अंक जोडेको थियो ।

धनगढी ५ अंक थप्दै चौथो स्थानमा उक्लिएको छ । धनगढीले तीन खेलबाट कुल ६ अंक पुर्‍याएको हो । समान खेल खेलेको पोखरा तीन अंकसहित तालिकाको पुछारमा छ । ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरामात्रै हो ।

धनगढीले पहिलो हाफमै २३–१२ को फराकिलो बनायो । टोलीले पहिलो हाफमा पोखरालाई दुईपल्ट अलआउट गर्‍यो । पोखरा भने निरीह देखियो । दोस्रो हाफमा एकपल्ट अलआउट गर्दै पोखराले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो । पोखरापनि रेड अब्बल देखिएको थियो । धनगढीले रेडबाट १३ अंक जोड्दा पोखराले पनि १० अंक जोडेको थियो ।

कान्तिपुर

Link copied successfully