काठमाडौँ — नेपालका भीष्मराज दाहाल र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा भाग लिने भएका छन् ।
कतार फेन्सिङ फेडेरेसनको आयोजनामा जनवरी २४ देखि २६ सम्म कतारको दोहामा उक्त प्रतियोगिता हुनेछ । भीष्मराज र सागरले व्यक्तिगत इपी विधातर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ४३ राष्ट्रका २ सय ४७ खेलाडीको सहभागिता रहने जनाइएको छ ।
दुवै खेलाडी बुधबार कतार गएका छन् । उनीहरूलाई लायन्स क्लब काठमाडौं साया र लियो क्लब अफ काठमाडौं सायाले बिदाइ गरेका थिए । यसअघि नेपाल फेन्सिङ संघले पनि उनीहरूलाई बिदाइ गरेको थियो । नेपाली खेलाडीको कतारमा प्रतियोगिता खेल्नका लागि एनआरएनए एनसीसी कतार, रमेश भट्ट, महेन्द्रप्रसाद चम्लागाईं, राजेन्द्रकुमार शर्मा र नरेन्द्रबहादुर भट्टलगायतले व्यवस्थापन गरेका छन् ।
विश्व वरीयता सुधारका लागि यो प्रतियोगिता महत्त्वपूर्ण मानिएको छ । ओलम्पिकका लागि प्रारम्भिक छनोटको रुपमा हेरिएको छ । सागर नेपाल एपीएफ क्लबका हुन् । बागमती प्रदेशका भीष्मराजले सन् २०२२ मा इजिप्टमा भएको विश्व च्याम्पियनसिप खेलेका थिए । सागरले सन् २०१९ मा नेपालमा भएको १३ औं सागमा प्रतिस्पर्धा गरेका थिए ।
