महोत्तरी — महोत्तरीको बर्दिवासमा आयोजित दोस्रो बर्दिवास मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि बर्दिवास-१ ले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा बर्दिवास-१२ लाई ४ विकेटले पराजित गर्दै बर्दिवास-१ ले जित हात पारेको हो ।
फाइनल खेलमा बर्दिवास १२ ले २० ओभरमा १० विकेट गुमाउँदै १ सय ११ रन बनाउन सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बर्दिवास-१ ले ६ विकेट गुमाउँदै १८ ओभरमा ११२ रनको लक्ष्य पूरा गरेपछि उपाधि हात पारेको हो ।
सर्च ०४४ खेलकुद तथा सांगीतिक समूह बर्दिवास-१४ को आयोजनामा माघ १ गतेबाट सुरु भएको प्रतियोगिता बुधबारको फाइनल खेलसंगै सम्पन्न भएको छ । बर्दिवास-१ ले ५१ हजार नगदसँगै सिल्ड, प्रमाणपत्र र उपविजेता बर्दिवास- १२ ले २५ हजार नगदसँगै सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको बेस्ट बलर पीपल लामा,बेस्ट ब्याटम्यान राजकुमार भुजेल र बेस्ट फिल्डर विकास थापा भएका छन् ।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा भएको खेलमा बर्दिवासको वडा नं १० बाहेक १३ वडाबाट १३ वटै समूह खेलमा सहभागी भएको आयोजक समितिका सदस्य तथा खेल संयोजक अनिष साहले बताए ।
खेलको समापन सत्रमा खेलाडीलाई पुरस्कार वितरण गर्दै बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले खेल र खेलाडीको विकासका लागि बर्दिवास नगरपालिका सधैँ प्रतिबद्ध रहेर काम गर्ने प्रतिबद्धता जनाए ।
