काठमाडौँ — पाँचौं मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह, नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुसिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
फागुन ९ र १० गते दक्षिणकाली नगरपालिका वडा १ चाल्नाखेलमा प्रतियोगिता हुनेछ । विभिन्न तौल समूहमा पुरुष र महिलातर्फ स्वदेशी र विदेशी गरी ३ सय खेलाडी सहभागी गराउने लक्ष्य रहेको क्योकुसिन काइकान अलाइड संघका अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलनमा बताए ।
भारतमा हालै सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा संघका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी नतिजा ल्याएको अध्यक्ष गुरुङले बताए ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले प्रतियोगिताका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष जय थापा मगर, संरक्षक कृष्ण गुरुङलगायतले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आफूहरूको साथ र सहयोग रहने बताए ।
