काठमाडौँ — प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको दुवै नेपाली महिला र पुरुष सोमबार स्वदेश फर्किएको छ । ऐतिहासिक उपलब्धि हासिल गरेको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्ले स्वागत गरेको थियो ।
राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्सालसहित राखेप बोर्ड सदस्यहरू, नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन, काठमाडौं महानगरपालिका प्रतिनिधिलगायतले भव्य स्वागत गरेका थिए ।
आइतबार भारतको नयाँ दिल्लीमा सम्पन्न विश्वकपमा नेपालको पुरुष/महिला दुवै टोली उपविजेता बनेको थियो । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो । पुरुषमा २० र महिलामा १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
सदस्य–सचिव घिसिङले पूरा टिमको मिहिनेतले विश्वकपमा ऐतिहासिक सफलता सम्भव भएको बताए । उनले उमेर समूहका खेलाडीलाई मध्यनजर गर्दै राखेपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रममा खो–खो समावेश गरिएको जानकारी गराए ।
पुरुष कप्तान हेमराज पनेरु र महिला कप्तान सरस्वती कडायतले पदक जित्ने लक्ष्यसाथ विश्वकपमा सहभागी भएको स्मरण गराउँदै हाम्रो सफलता देशका लागि ऐतिहासिक उपलब्धि बनेकोमा गौरव महसुस भएको बताए ।
सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भएबमोजिम नै खेलाडीलाई पुरस्कृत गरिने बताए । त्यसका लागि १५ दिनभित्र आवश्यक कागजात पेस गर्न खो–खो संघलाई निर्देशन दिएका छन् ।
नियमावलीमा के छ पुरस्कार ?
नियम २८ को उपनियम (३), (६) र (६) सम्बन्धित भनेर ओलम्पिक, एसियाली, दक्षिण एसियाली खेलकुद तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त अन्य खेलकुद प्रतियोगितामा पदक जित्नेलाई प्रदान गरिने पुरस्कार रकम तोकिएको छ ।
अन्तर्राष्ट्रिय महासंघ (आईएफ) विश्व च्याम्पियनसिपअन्तर्गत तोकिएको पुरस्कार खो–खो विश्वकप उपविजेता टोलीले दाबी गर्न पाउनेछ । सामूहिक प्रतिस्पर्धा रहेकाले रजत जितेका खेलाडीले जनही ४५ लाख रुपैयाँ पाउनुपर्ने हुन्छ । स्वर्ण हुन्थ्यो भने जनही ५२ लाख थियो ।
प्रशिक्षकको ७ लाख ८० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियोको ३ लाख ९० हजार तथा खेल संघको १५ लाख ६० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
दुई टिममा १५–१५ गरी ३० खेलाडी विश्वकपमा सहभागी छन् । खेलाडीले जनही ४५ लाखको दरले पाउँदा १३ करोड ५० लाख हुनेछ । दुई प्रशिक्षकले १५ लाख ६० हजार तथा दुवै टिमका छुट्टै सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी ६ जनाले २३ लाख ४० हजार पाउनेछन् ।
खो खो संघको भागमा १५ लाख ६० हजार पर्नेछ । नियमावलीमा व्यवस्था भएको पुरस्कार दिइँदा झन्डै १४ करोड ४ लाख ६० हजार रुपैयाँ खो–खो टिमले हात पार्नेछ ।
यसै नियमावलीमा टेकेर एसियाडका पदक विजेता र क्रिकेट खेलाडीहरूले पुरस्कार लिइसकेका छन् ।
