एन्फा महिला लिग : पुलिसको निराशाजनक प्रदर्शन

माघ ८, २०८१

कान्तिपुर संवाददाता

ANFA Women's League: Disappointing police performance

काठमाडौँ — धेरै अर्थमा एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा नेपाल पुलिस क्लबको प्रदर्शन कमजोर नै रह्यो । पुलिसले सोमबार प्ले–अफ अगाडिको आफ्नो अन्तिम खेल खेल्यो ।

त्यसमा टोलीले विभागीय प्रतिद्वन्द्वी एपीएफसँग निराशाजनक हार बेहोर्‍यो । एपीएफका लागि भने सुखद नतिजाको क्रम जारी रह्यो । यो जितसँगै ५ टिमसम्मिलित दोस्रो चरणमा एपीएफ शीर्षमा रहने निश्चित भएको छ । 

सातदोबाटोको एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले १–१ गोल गरे । रश्मिले १७ औं मिनेटमा पहिलो गोल गरिन् । अनिताले दोस्रो हाफको ६४ औं मिनेटमा अर्को गोल थपिन् । एपीएफको यो लगातार सातौं जित हो, लगातार तेस्रो क्लिन सिट । एपीएफको ७ खेलबाट २१ अंक छ । टोलीको पछाडि रहेको आर्मीको ७ खेलबाट १६ अंक छ । 

आ–आफ्नो अन्तिम खेलमा यिनै दुई टिम भिड्ने छन् । त्यसको नतिजा जस्तो भए पनि आर्मीले एपीएफलाई उछिन्न सक्ने छैन । यस्तोमा आर्मी दोस्रो स्थानमै रहनेछ । दुवै टिम यसअघि नै क्वालिफायर–१ का लागि छनोट भइसकेको छ । पुलिसको ८ खेलबाट ११ अंकमात्र भयो । पुलिसले पछिल्ला ३ खेलमा एकै अंकमात्र बटुल्न सक्यो । 

लिगको पहिलो चरणमा पनि पुलिस टिम एपीएफ र आर्मीपछि तेस्रो स्थानमै रहेको थियो । त्यतिबेला दोस्रोमा रहेको आर्मीसँग पुलिसको दूरी एकै अंक मात्र थियो । यसपल्ट पुलिस आर्मीभन्दा ५ अंकले पछाडि रह्यो । विभागीय डर्बीका ४ खेलमा पुलिस ३ मा पराजित रह्यो भने एकै खेलमा मात्र बराबरी निकाल्न सफल रह्यो । 

अब मंगलबार बागमती युवा क्लब र वालिङ नगरपालिका टिम भिड्नेछ । यो दुवै टिमको दोस्रो चरणमा अन्तिम खेल हुनेछ । प्रतियोगिताको वालिङमा चुनौती समाप्त भइसकेको छ । पुलिसले इलिमिनेटरमा बागमतीको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नै प्ले–अफको नयाँ तालिका निकालेको छ । त्यसअनुसार दुवै क्वालिफायर बिहान १० बजेको अनुपयुक्त समयमा हुनेछ ।

कान्तिपुर

Link copied successfully