मटिहानीमा सातौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

माघ ८, २०८१

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित मटिहानी रंगशालामा एक समारोहबीच मंगलबार प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रूपमा गरेका छन् ।

नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको दुईदिने प्रतियोगितामा भलिबल, कबड्डी, फरक-फरक दूरीका दौड, हाइजम्प, लङजम्प र बुद्धिचाल गरी २३ किसिमको खेल सामेल गरिएको शिक्षा तथा खेलकुद शाखा मटिहानीका प्रमुख चन्देश्वर साहले जानकारी दिए । 

नगरपालिकाअन्तर्गतका ५ वटा माध्यमिक विद्यालय प्रतियोगितामा सहभागी हुने नगरपालिकाले जनाएको छ । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले शिक्षा र खेलकुदको विकास र खेलाडी उत्पादनमा पालिकासँगै प्रतिबद्ध भएर लगानी गर्ने प्रतिबद्धता जनाए ।

खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लालबाबु कवारीले  शारीरिक तथा मानसिक विकासका लागि खेल अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।  खेलाडीको पहिचान स्थापित गराउन र खेल क्षेत्रको विकासमा मटिहानी नगरपालिकाले देखाएको तदारुकताको कवारीले प्रशंसा गरे । 

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully