काठमाडौँ — एन्फा महिला लिग फुटबलमा आइतबार प्लेअफ खेल्ने चार टिम निश्चित भएको छ । आर्मीले प्रतियोगिताको फाइनल प्रवेशका लागि क्वालिफायर–१ मा एपीएफ क्लबको सामना गर्ने भएको हो । अन्तिम लिग तालिकाको शीर्षस्थानमा रहने टिमबारे मात्रै अब निर्णय हुन बाँकी छ ।
आर्मीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा वालिङ नगरपालिका टिमलाई ६–१ गोलले पराजित गरेपछि क्वालिफायर–१ मा प्रवेश गरेको हो । यो नजितासँगै आर्मी अन्तिम लिग तालिकाको शीर्ष दुई स्थानमा रहने निश्चित भएको छ ।
हारले प्रतियोगितामा वालिङको चुनौती समाप्त भएको छ । यसको अर्थ इलिमिनेटरमा पुलिसले बागमती युवा क्लबको सामना गर्नेछ । पुलिस तेस्रो र बागमती चौथोमा रहने निश्चित भएको हो ।
आर्मीको ७ खेलबाट १६ अंक भएको छ । यो शीर्षमा रहेको एपीएफसँग २ अंकको दूरी हो । पुलिस भने सातै खेलबाट ११ अंकमा छ । बागमती भने ४ अंक छ र वालिङले उसलाई उछिन्न सक्ने छैन ।
चन्द्रा भण्डारीले आर्मीको पछिल्लो जितमा ह्याट्रिकसहित ५ गोल गरिन् । उनले १५, २४, ५३, ६८ र ७३ औं मिनेटमा गोल गरेकी हुन् । उनी नै ‘प्लेयर अफ द म्याच’ रहिन् । एक अर्को गोल विमला चौधरीको नाममा रह्यो । उनले ६३ औं मिनेटमा गोल गरेकी हुन् । मीना देउवाले वालिङका लागि १८ औं मिनेटमा एक गोल फर्काइन् । महिला लिगका दोस्रो चरणमा वालिङबाट सम्भव यो दोस्रो गोल मात्रै हो ।
