खो-खो विश्वकप उपविजेता नेपाली टोली आज फर्कने, विमानस्थलमा स्वागत गरिने

माघ ७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रथम खो–खो विश्वकप प्रतियोगिताको उपविजेता नेपालका महिला र पुरुष दुवै टोली आज दिउँसो ३ बजे स्वदेश फर्कने भएका छन् ।

भारतबाट ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । टिमको स्वागतमा सबै खेल संघहरू, खेलाडीहरूलाई उपस्थितिका लागि अनुरोध पनि गरेको छ ।   

विश्वकपमा नेपालका दुवै टोली उपविजेता बनेको थियो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । त्यसैले नेपाली खेलकुदका लागि यो ‘दुर्लभ’ उपलब्धिको रुपमा रहेको छ ।

आइतबार नयाादिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेता बनेको हो ।


फाइनलमा पुरुषतर्फको नेपालले ५४–३६ स्कोरले खेल भारतलाई सुम्पेको थियो । महिलातर्फ नेपाली टिम भारतीय टिमसँग ७८–४० स्कोरले पराजित भएको हो । नेपाली महिला टिम अपराजित रहेर फाइनल पुगेको थियो । पुरुष टिम भारतसँग समूह चरणको पहिलो खेलमा पराजित भएको थियो । नेपालका दुवै टोली फाइनल पुगेपछि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ आइतबार बिहान टोलीको हौसला बढाउन दिल्ली पुगेका थिए ।

यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले सोमबार विज्ञप्तिमार्फत प्रथम खो-खो विश्वकपमा नेपाली महिला तथा पुरुष खेलाडीले ऐतिहासिक रजत पदक जित्न सफल भएकामा हर्ष प्रकट गर्दै बधाई ज्ञापन गरेको छ ।

उक्त सफलताका लागि सम्पूर्ण खो खो खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा नेपाल खो खो संघ हकदार भएको बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully