काठमाडौँ — नेपाली व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले जापान यूटीआर प्रो टेनिस टुरको यात्रा टुंग्याएका छन् ।
जापानको नोडामा भएको प्रतियोगिताको मेन्स सिंगल्सको प्लेअफ फाइनलमा अभिषेक जापानका सेइया नाकानिशीसँग सोझो सेटमा पराजित भए । उनले ६–४, ६–४ ले खेल गुमाए । उनले पाँचौ स्थानको प्लेअफ फाइनल खेलेका हुन् ।
त्यसअघि अभिषेकले प्लेअफ सेमिफाइनलमा जापानका युसुके योसिकावालाई ६–४, ६–३ ले पराजित गरी फाइनलमा पुगेका थिए ।
कुल २० हजार अमेरिकी डलर पुरस्कार राशीको यूटीआर प्रो टेनिस टुरको सहभागितालाई अभिषेकले उपलब्धिपूर्ण रहेको बताए । उनले टुरमा ६ खेल खेल्ने अवसर पाएका थिए ।
‘आफ्नो वरीयता सुधारमा यो टुरले निकै सहयोग हुनेछ । जापानका शीर्ष खेलाडीहरूसँग खेल्न पाएँ । यसले आफ्नो गेम सुधार्न धेरै मदत गरेको छ । यो सिजनको पहिलो प्रो टुर थियो । समग्रमा राम्रो भयो,’ अभिषेकले भने, ‘यहाँ अलि जाडो रहेको र हावाका कारण अझ मैले सोचे जस्तो प्रदर्शन गर्न सकिनँ ।’
उनी अर्को साता यूटीआर दुबई टुर खेल्न यूएई जाने भएका छन् ।
