राष्ट्रिय बुद्धिचाल माघ १३ देखि हेटौंडामा

माघ ७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं पुरुष र १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडामा हुने भएको छ ।

माघ १३ देखि १९ सम्म हेटौंडास्थित होटल सामनामा हुने राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडीले अर्को वर्ष काजकिस्तानमा हुने चेस ओलम्पियाडमा भाग लिन पाउने महासंघका प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन् ।

महासंघले प्रतियोगितामा संयोजकको जिम्मेवारी महासचिव धरमबहादुर लामालाई दिएको छ । महिला र पुरुष दुवैतर्फ पूर्वनिर्धारित फरम्याटअनुसार सिनियर नेसनल च्याम्पियनसिपका शीर्ष तीन खेलाडी र नेसनल ‘बी’ बाट छनोट भएका उत्कृष्ट खेलाडीबीच ११ चरणमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ नेसनल च्याम्पियन, दोस्रो र तेस्रो भएका क्रमशः राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भण्डारीसहित नेसनल ‘बी’ बाट छनोट भएका पुरुषोत्तम सिलवाल, आशिष फुयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धीरेन राई, सीएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ नेसनल च्याम्पियनसिपका शीर्ष तीन स्थानका विजेता क्रमशः सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारीसहित विनीता कपाली, लक्ष्मी कँडेल, इशा गिरी, शान्ति धिमाल, दानिशा पुरी, सुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा खेलाडीलाई सहभागी गराउन समन्वय विभाग प्रमुख सुशील चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघले स्थानीय व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्बिटर यज्ञप्रसाद पन्त प्रमुख निर्णायकमा रहनेछन् भने फिडे आर्बिटर सोराज ताम्राकार, एफए मिसन दाहाल, एफए सन्दीप घिमिरे र एनए रमिला पोखरेलको टिम रहनेछ ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्न अनुमानित खर्च २४ लाख ५० हजार हुने जनाइएको छ । बागमती खेलकुद विकास परिषद् तथा स्थानीय तहसँगको सहकार्यमा रकम जम्मा गरिने महासंघले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully