राजारानी भेट्रान क्लब अन्तिम चारमा

माघ ७, २०८१

अर्जुन सुवेदी

सुनसरी — धनकुटाको हाम्रो राजारानी भेट्रान क्लब पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली बर्मिक नाम्फिङ भेट्रान सिक्किम भारतलाई पेनाल्टी सुटआउमा ५–४ गोल अन्तरले पराजित गर्दै राजारानीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । 

पेनाल्टी सुटआउटमा राजारानीका तर्फबाट कृष्ण शाक्य, मित्र बस्नेत, सन्तोष बस्नेत, सुजित राई र भेषराज लिम्बूसहित पाँचै जनाको प्रहार गोलमा परिणत भएको थियो । सिक्किम टिमका तर्फबाट भूपेन्द्र लिम्बु, रमेश क्षेत्री र मिलन लिम्बुले मात्र पेनाल्टीमा गोल गर्न सके । दावा ज्याङ्पो भुदाको प्रहार बारमा लागेर फर्कियो । 

त्यसअघि निर्धारित समयको सुरुवाती तेस्रो मिनेटमा कृष्ण शाक्यको गोलबाट राजारानीले अग्रता बनाएको थियो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । ११ औं मिनेटमा दावा ज्याङपो भुदाले गोल फर्काएपछि खेल १–१ को बराबरीमा आएको थियो । तेह्रौं मिनेटमा शाक्यले व्यक्तिगत दोस्रो गोल गरे पनि सिक्मिमका भुदाले पनि दोस्रो गोल फर्काएपछि निर्धारित समयमा खेल २–२ को बराबरीमा टुंगिएको थियो ।खेलको म्यान अफ द म्याच राजारानीका कृष्ण शाक्य घोषित हुँदै नगद २ हजार १ सय रुपैयाँ हात पारे ।

मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रान क्लब झापा र टिवाई वाइसी भेट्रान विराटनगरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

अर्जुन

Link copied successfully