गोरखा — जिल्लास्तरीय राष्ट्रपति रिनिङ सिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । ७ स्वर्ण, ९ रजत, ३ कास्यसहित सिरानचोकले उपाधि जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिं बस्नेतले जानकारी दिए ।
त्यस्तै पालुङटार नगरपालिका दोस्रो बनेको छ । पालुङटारले ६ स्वर्ण, ६ रजत, ८ कास्य सहित पालुङटार दोस्रो बनेको हो ।
भीमसेन थापा गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ । ५ स्वर्ण, ४ रजत, ३ कास्य पदक जितेर भीमसेन थापा गाउँपालिका तेस्रो बनेको अध्यक्ष बस्नेतले बताए । तीन दिनसम्म पालुङटार नगरपालिकामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगिताका विजेतालाई पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ११ वटै पालिकाका ८ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
