डोटी — केआई सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ललाई सम्मान गरेको छ । शेरबहादुरलाई छैटौं पालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा शनिबार १ लाख ३१ हजार २ सय ५० रुपैयाँसहित सम्मान गरेको हो । उनलाई गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शनिबार सम्मान गरे ।
केआईसिंह–५ रानागाउँका मल्लले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कठिन संघर्ष गरेर आफू यो स्थानमा आइपुगेको बताए । अत्यन्तै विपन्न परिवारमा जन्मिएका शेरबहादुर भारतमा रोजगारीका लागि गएका आफ्ना आमाबुवासँगै हुर्किएका थिए ।
तीव्र इच्छाशक्ति र मिहनेतका बलमा उनले क्रिकेटप्रतिको रुचि विकास गर्दै राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाएका हुन् । उनले जीवनको अनुभवलाई आधार मान्दै उनले खेलकुद क्षेत्रको विकासका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
उक्त कार्यक्रममा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा करातेतर्फ प्रथम भएका झिमेमालिका माविका विद्यार्थी गौरव कोलीलाई ५ हजारसहित सम्मान गरेको थियो । झिमेमालिका माविले क्रिकेटर मल्ललाई ५ हजार र करातेका गौरवलाई १ हजार १ सय ५५ रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारानाथ भट्टले बताए ।
