सभापति कपको पहिलो खेलमा चर्च ब्वाइज र संकटा भिड्ने

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Church Boys and Sankata clash in the first match of the President's Cup

काठमाडौँ — नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुने सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेलतालिका सार्वजनिक गरे । ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल बिहीबार हुनेछ ।

हरेक दिन एक खेल हुनेछ । आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) ले खेल्नेछ । माघ ११ मा मछिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र आयोजक टिम तथा माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

माघ १४ र १५ गते सेमिफाइनल तथा माघ १७ फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाा प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा कााग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी दिइयो ।

कान्तिपुर

Link copied successfully