पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतियोगिताको फाइनलमा नेपालका दुवै टिमको प्रतिस्पर्धी भारत, फाइनल आज
काठमाडौँ — नयाँदिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका छन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दुवैतर्फको फाइनल आइतबार हुँदै छ ।
पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतिस्पर्धामा नेपालका दुवै टिम फाइनलमा पुगेका हुन् । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा शनिबार भएको महिलातर्फको सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।
सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम ८९–१८ स्कोरमा विजयी भएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सेमिफाइनलमा नेपालकी पूजा ओड बेस्ट प्लेयर भइन् भने बेस्ट डिफेन्डर दीपा विक चुनिइन् । युगान्डाकी नागवा डोरोथी बेस्ट एट्याकर भइन् ।
महिलातर्फ समूह चरणमा नेपालले जर्मनीलाई ७४–३४, भुटानलाई ८३–२४, श्रीलंकालाई ११०–१० र बंगलादेशलाई ८३–२४ ले हराएको थियो । समूह ‘सी’ विजेता बनेको नेपालले क्वाटरफाइनलमा इरानमाथि १०३–८ को जित पाएको थियो । शनिबारै भएको दोस्रो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई ६६–१६ स्कोरले हराएर नेपालसँग फाइनल प्रतिस्पर्धा पक्का गरेको छ ।
नेपाली महिला टोली फाइनल पुगेको केही घण्टापछि नेपाली पुरुष टोलीले फाइनल यात्रा तय गर्यो । सेमिफाइनलमा इरानलाई ७२–२० स्कोरमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो । हेमराज पनेरुको कप्तानीमा उत्रेको नेपाललाई उपाधिसामु पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका जनक चन्द बेस्ट प्लेयर घोषित भए भने सुरज पुजाराले बेस्ट एट्याकरको ट्रफी पाए । इरानका मेहरब बेस्ट डिफेन्डर भए ।
पुरुषतर्फ समूह चरणमा भारतसँग ४२–३७ ले पराजित नेपालले पेरुलाई ८०–३४, ब्राजिललाई १३४–८ र भुटानलाई ९८–८ ले हराएको थियो । समूह ‘ए’ मा उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा स्थान बनाएको थियो । पुरुषतर्फ पनि नेपालले उपाधिका लागि भारतसँगै प्रतिस्पर्धा गर्नेछ । भारत पुरुषतर्फ पनि दक्षिण अफ्रिकालाई नै दोस्रो सेमिफाइनलमा ६२–४२ ले हराएर फाइनल पुगेको हो ।
नेपाली पुरुष टिममा हेमराज, जनक, सुरजसहित यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारू, राजन बल, जोगेन्द्र राना, समीर चन्द, विश्वास चौधरी, रोहितकुमार बर्मा, भरत सारु र गणेश विश्वकर्मा छन् । महिला टिममा भने सरस्वती, पूजा, दीपासहित मनमती धामी, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, आशा थारू, दीपाकुमारी विक, निशा शाही, कर्माकुमारी शाही, कञ्चन चौधरी, पुनम थारू, सम्झना विक र अनिशा गोले छन् ।
नेपालले खो–खो खेलमा १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितिसकेको छ । दुवै टोलीका कप्तानले विश्वकपका लागि बिदाइ हुने क्रममा नेपालको लक्ष्य पदक भएको बताएका थिए । महिला टोलीकी कप्तान सरस्वतीले कम्तीमा रजत पदक जित्ने लक्ष्य भएको बताएकी थिइन् ।
दक्षिण एसियाली स्तरमा पदक जितिसकेकाले उनले उक्त दाबी गरेकी थिइन् । पुरुष टोलीका कप्तान हेमराजले पनि अन्तर्राष्ट्रिय पदक जितिसकेकाले दक्षिण एसियामा भारत, बंगलादेशपछि नेपाल बलियो टोली भएकाले पदक जित्ने लक्ष्य राखेको बताएका थिए ।
घरेलु भूमिमा सन् २०१९ मा भएको १३ औं सागमा नेपाली महिला टिमले खो–खोमा रजत जितेको थियो । त्यतिबेला भारतसँग १७–५ स्कोरले पराजित भएर नेपालले स्वर्ण गुमाएको थियो ।
नेपाललाई भारतसँग सागको बदला विश्वकपमा उसकै भूमिमा लिने अवसर छ । पुरुषतर्फ नेपाली टोली १३ औं सागमा बंगलादेशसँग २४–२३ ले पराजित भएर फाइनल पुग्नबाट वञ्चित भएको थियो । नेपालले विश्वकपमा बंगलादेशलाई क्वाटरफाइनलमै रोकेर बदला लिइसकेको छ ।
नेपालले सागमा श्रीलंकालाई १७–७ ले हराएर कांस्यमा चित्त बुझाएको थियो । स्वर्ण भने भारतले नै जितेको थियो । सन् २०१६ मा गुवाहाटीमा सम्पन्न १२ औं सागमा नेपालका महिला र पुरुष दुवै टिमले कांस्य जितेका थिए । त्यतिबेला पनि दुवै स्वर्ण भारतले जितेको थियो भने बंगलादेश रजतमा सीमित भएको थियो ।
खो–खो २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको खेल संघ हो । कीर्तिपुरस्थित कभर्डहलमा एक महिना बन्द प्रशिक्षणमारहेर नेपाली टोली विश्वकप खेल्न गएको हो ।
