यू-१९ विश्वकपमा ‘डेब्यु’ गर्दै नेपाल

नेपाली महिला टोलीले आज बंगलादेशसाग खेल्ने, लक्ष्य दोस्रो चरणमा पुग्ने

माघ ५, २०८१

कान्तिपुर संवाददाता

Nepal is making its 'debut' in the U-19 World Cup

काठमाडौँ — नेपालले शनिबार आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपमा ‘डेब्यु’ गर्दै छ । मलेसियामा प्रतियोगिताको शनिबार पहिलो दिनको खेलमा पहिलो पटक यू–१९ महिला विश्वकप खेलिरहेको नेपालले बंगलादेशको सामना गर्नेछ । 

पूजा महतोको कप्तानीमा नेपालले कात्तिकमा भएको छनोट प्रतियोगिताको निर्णायक मानिएको खेलमा घरेलु टोली यूएईलाई पराजित गरेको थियो । 

मलेसियामा दुई अभ्यास खेल खेल्दै नेपालले यू–१९ विश्वकपको तयारी पूरा गरेको छ । तर, दुवै अभ्यास खेल नेपालका लागि सोचेजस्तो हुन सकेन । वेस्ट इन्डिजसँग पहिलो अभ्यास खेलमा नेपाली टिम ९ रनले पराजित हुन पुग्यो । वेस्ट इन्डिजले बनाएको १ सय ९ रनको जवाफ दिनेक्रममा नेपाल १ सय ९ रनमा अलआउट भयो । अमेरिकासँग दोस्रो अभ्यास खेलमा नेपालको प्रदर्शन अझै कमजोर थियो । नेपाललाई ५८–९ को स्कोरमा रोकेपछि अमेरिकाले १४ ओभरमै लक्ष्य पूरा गरेको थियो । 

यसका बावजुद नेपालले प्रतियोगितामा दोस्रो चरणमा पुग्ने लक्ष्य बनाएको छ । नेपालले समूह चरणमा बंगलादेशसहित स्कटल्यान्ड र अस्ट्रेलियासँग खेल्नेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष ३ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । सुपर सिक्समा ६–६ टोलीको दुई समूह हुनेछ । त्यसबाट शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । 

समूह चरणको खेलमा एउटा विजय हात पारे पनि ‘सुपर सिक्स’ मा पुग्ने सम्भावना रहन्छ । नेपालको सबै आशा कप्तान पूजामाथि छ । उनले यूएईमा भएको यू–१९ विश्वकपको छनोट प्रतियोगितामा कुवेतविरुद्ध ६९ बलमा १ सय ३० रन बनाएकी थिइन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने दोस्रो खेलाडी भएकी थिइन् । उनले उक्त खेलमा ५ विकेट पनि लिएकी थिइन् । 

तर अभ्यास खेलमा पूजाको ब्याट खासै नचल्दा नेपालले रनमा संघर्ष गर्नुपरेको थियो । ‘इमान्दार भएर भन्नुपर्दा यो एकदमै उत्साहजनक यात्रा रह्यो,’ विश्वकपमा आफ्नो पहिलो खेल खेल्नुअघि पूजाले नेपालको तयारीबारे आईसीसीको विज्ञप्तिमा भनेकी छन्, ‘हामीले महिनौंदेखि मिहिनेत गरेर आजको स्थितिमा आइपुगेका छौं । हामीले प्रशिक्षणमा निकै ध्यान दिएर आफ्नो कमीकमजोरी केलाउनुका साथै योजनाहरू बनाएका थियौं ।’ 

बंगलादेश दुवै अभ्यास खेलमा विजय हात पारेर नेपालसँग खेल्न तयार भएको हो । बंगलादेशले पहिलो अभ्यास खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । श्रीलंकालाई १२४–३ को स्कोरमा रोकेपछि बंगलादेशले १८.३ ओभरमा लक्ष्य पूरा गरेको थियो । दोस्रो खेलमा बंगलादेशले इंग्ल्यान्डमाथि सुपर ओभरमा जित पाएको थियो ।

इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाई १ सय १३ रन बनाएको थियो । जवाफमा बंगलादेश पनि पूर २० ओभर खेल्दै समान स्कोरमा अलआउट भयो । सुपर ओभरमा इंग्ल्यान्डले १ विकेट गुमाई बनाएको ९ रनलाई बंगलादेशले छैटौं बलमा ११ रन बनाएर पूरा गरेको थियो ।

कान्तिपुर

Link copied successfully