काठमाडौँ — पाँचौं संस्करणको टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका दुवै विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जित्ने भएका छन् ।
उपविजेताले २ लाख ८५ हजार ५५५ तथा तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक टाइगर गुप्र अफ पोखराले उक्त कुराको जानकारी दिएको हो । पोखरामा हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । माघ १२ देखि १९ सम्म हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र एक विदेशी टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमिन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ एपीएफ क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वाइरी युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड २५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
