काठमाडौँ — आमन्ड डिएलोले खेलको अन्त्यतिर गरेको ह्याट्रिकको मद्धतले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बिहीबार साउथह्याम्पटनमाथि ३–१ को सनसनीपूर्ण जित निकालेको छ ।
ओल्ड ट्रायफोर्डमा भएको खेलमा साउथह्याम्पटनले पहिलो हाफमा अग्रता लिएको थियो र युनाइटेड एक अर्को हारतर्फ अग्रसर देखिएको थियो । म्यानुएल उगार्टेको आत्मघाती गोलमा युनाइटेड पछाडि परेको थियो ।
तर पछिल्लो साता मात्रै युनाइटेडसँग साढे पाँच वर्षको अनुबन्ध गरेका विन्गरले अविश्वसनीय ढंगले तीन गोल गरे । आईभरीकोस्टका डिएलोले ८२ र ९० औं मिनेटमा सुरुआती दुई गोल गरे ।
त्यसपछि इन्ज्युरी समयको चौथो मिनेटमा ह्याट्रिक पूरा गरे । यो जितपछि युनाइटेडको २६ अंक भएको छ र १२ औं स्थानमा उक्लेको छ । साउथह्याम्पटन भने छ अंकमा सबैभन्दा अन्तिम स्थानमा छ ।
बिहीबारको अर्को खेलमा ब्राइटनले इपस्विच टाउनलाई २–० ले हरायो । त्यसमा काओरु मिटोमा र जर्जिन्हो रुटरले एक एक गोल गरे । लिगमा नोभेम्बरयता ब्राइटनको यो पहिलो जित हो ।
यस जितपछि उसको ३१ अंक भएको छ र नवौं स्थानमा छ । इपस्विच भने १६ अंकमा पुछारबाट तेस्रो स्थानमा छ ।
