‘अर्जुन ट्रफी’ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

माघ ३, २०८१

अर्जुन शाह

Trophy unveiling of 'Arjuna Trophy' national cricket tournament

धनगढी — धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने ‘अर्जुन ट्रफी’ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । सुदूरपश्चिम  प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरेका हुन् । 

धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्त्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता माघ १९ देखि माघ २८ गतेसम्म सञ्चालन हुनेछ । 

उक्त राष्ट्रिय प्रतियोगितामा डीसीए धनगढी, सफवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, फ्रेन्ड्स युथ क्लब डडेलधुरा, घोडाघोडी–११ सुखड, न्यू होराइजन बुटबल, दशरथ चन्द एकेडेमी बैतडी र बोस्टन क्रिकेट झापा गरी ८ वटा टीमको सहभागिता रहने आयोजक गो ड्रिमर्स प्रालिले जनाएको छ । 

एउटा टिममा ४ जनासम्म राष्ट्रिय टोलीका खेलाडीहरु पनि राख्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने छन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगर एक लाख, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयीमान खेलाडीले जनही ५०/५० हजार प्राप्त गर्नेछन् । खेलहरू लिगकम नकआउट आधारमा आयोजना हुने छन् । 

ट्रफी अनावरण गर्दै मुख्यमन्त्री शाहले क्रिकेटले सुदूरपश्चिमलाई विश्वभर चिनाउने अवसर प्राप्त गरेको बताए । उनले सुदूरपश्चिमका खेलाडीहरूले क्रिकेट खेलमा विश्वकीर्तिमान राखिरहेको बताउँदै क्रिकेटको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully