काठमाडौँ — पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनाका लागि फेब्रुअरी २५ र २६ मा बैठक बोलाएका छन् । बैठक पाकिस्तानको लाहोरमा हुनेछ । यससँगै अन्योलता र अनिश्चितताबीच साग हुने सम्भावना बढेको छ ।
पाकिस्तानले नै अबको दक्षिण एसियाली खेलकुदको आयोजना गर्दैछ । सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) पनि अध्यक्ष हुन् ।
बैठकका अवसरमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुनेछ । त्यस अवसरमा सहभागीलाई सम्भावित खेल स्थलको भ्रमण पनि गराइने छ । बैठकमा प्रतियोगितालाई लिएर आवश्यक थप विविध विषयमा पनि छलफल हुनेछ ।
सन् २०१९ मा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । त्यतिबेला पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष जनरल आरिफ हुसेनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले झण्डा हस्तान्तरण गरेका थिए ।
