पहिलो खेलमा काठमान्डु र पोखरा भिड्दै
काठमाडौँ — नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारदेखि दशरथ रंगशालास्थित राखेप कभर्डहलमा सुरु हुँदै छ । त्यसमा प्रतिस्पर्धी ६ फ्रेन्चाइज टिमको एउटै लक्ष्य हो, उपाधि जित्ने ।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टिमका प्रशिक्षक र मार्की खेलाडीको दाबी थियो, उपाधिको दाबेदारी उनीहरू आफैं हुन् । नेपालमा पहिलोपल्ट हुन लागेको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष चार टोलीले प्ले–अफमा स्थान बनाउने छ । पहिलो खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्नेछन् ।
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोकामगर काठमान्डुका मार्की हुन् । काठमान्डुले नेपालका पूर्व कप्तान सरोज सिंहको प्रशिक्षणमा तयारी गरेको छ । पोखरा लेकर्सको मार्कीमा प्रदीप मिजार छन् । राष्ट्रिय टोलीमा पनि प्रशिक्षण दिइसकेका विष्णुदत्त भट्टको प्रशिक्षणमा पोखरा उत्रँदै छ ।
जनकपुरको प्रशिक्षकमा पार्वती राई र मार्कीमा रामु टमाटा छन् । अन्य टोलीका मार्की खेलाडी विराटनगरमा कल्याण भुजेल र प्रशिक्षकमा लोकबहादुर विष्ट, धनगढीको मार्कीमा पदमबहादुर विष्ट र प्रशिक्षकमा महेश बोहरा, हिमालयनको मार्कीमा गणेशबहादुर पार्की तथा प्रशिक्षकमा सन्दीप पन्त र भारतका पोल्थुगान्ती सतीशकुमार रहेका छन् । सतीशकुमार भारतीय प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।
थाइल्यान्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान ३ गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । प्रत्येक टिममा १४ खेलाडी रहनेछ । हरेक टिमले कम्तीमा २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् भने एकै पटक दुई विदेशी खेलाडी खेल्न पाउनेछन् ।
