सुदूरपश्चिम र एपीएफको लगातार दोस्रो जित

माघ २, २०८१

अर्जुन शाह

धनगढी — नेपाल एपीएफ क्लब र घरेलु टोली सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । एपीएफले बुधबार भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो । 

एपीएफले ७१ रनको लक्ष्य एपीएफले ९.३ ओभरमै पूरा गर्‍यो । कप्तान इन्दु बर्मा २१ बल खेली २ चौकासहित २६ र रोमा थापा ११ बल खेली १ चौकासहित १४ रनमा अविजित रहे । राजमती ऐरी ८ र ममता चौधरी १८ रनमा आउट भएका थिए । गण्डकीका आकृति तिवारी र यशोदा भुजेलले १–१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले हुस्सुका कारण १५ ओभरमा छोट्याइएको खेलमा ७० रन बनाएको थियो । कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन् । रेखा तामाङ १७ र श्रेया शाही १३ रनमा आउट भए । एपीएफकी बिनु बुढाले २ र करुणा भण्डारीले १ विकेट लिए । 

सुदूरपश्चिमले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाई १ सय २७ रन बनायो । कविता कुँवरले ३३ बल खेली ८ चौकासहित ५५, मनीषा बोहराले २३ र रीतु कनोजियाले अविजित १८ रन बनाए । लुम्बिनीका सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डीसीले १–१ विकेट लिए । 

जवाफमा लुम्बिनी १९.१ ओभरमा ५२ रनमै अलआउट भयो । सरस्वती पुनले १४ र कप्तान सरस्वती जीएमले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमकी रेवती धामीले ३, आशिका महराले २ तथा कविता, रीतु, करिश्मा थापा र जानकी थापाले १–१ विकेट लिए । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully