अमेरिकासँग पनि नेपाल पराजित 

माघ २, २०८१

कान्तिपुर संवाददाता

Nepal also lost against America

काठमाडौँ — नेपाल आईसीसी महिला यू–१९ ट्वान्टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । पहिलो खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित नेपाललाई बुधबार अमेरिकाले ५ विकेटले पराजित गर्‍यो । अमेरिकाले पहिलो अभ्यास खेलमा न्युजिल्यान्डलाई पराजित गरेको थियो ।

मलेसियाको क्वालालम्पुरस्थित रोयल सेलेन्गर क्लबमा टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभर खेली ९ विकेट गुमाई ५८ रन मात्र बनाउन सकेको थियो । सावित्री धामी ५, सना प्रवीण १२, कप्तान पूजा महतो १०, उपकप्तान सोनी पाख्रिन ४, किरण कुँवर शून्य, ज्योत्सनिका मरासिनी ६, तृष्णा विश्वकर्मा २, सिमान केसी ६, अलिसा यादव १ रनमा आउट भए । अनु कडायत ३ र रचना चौधरी ४ रनमा अविजित रहे ।

अमेरिकाले १४ ओभरमा लक्ष्य पूरा गरेको थियो । इसानी भाघेलाले २८ बल खेली २ चौका प्रहार गरी २४ र पूजा शाहले १० रन बनाउँदै अमेरिकालाई जिताए । नेपालबाट रिया शर्माले ४ ओभरमा १५ रन खर्चेर ३ र पूजाले १ विकेट लिइन् । समूह ‘डी’ मा रहेको नेपालले शनिबार बंगलादेशविरुद्ध खेलेर यू–१९ विश्वकपको यात्रा प्रारम्भ गर्नेछ । त्यसपछि नेपालले जनवरी २० मा स्कटल्यान्ड र जनवरी २२ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ । 

कान्तिपुर

Link copied successfully