काठमाडौँ — एलेक्स ग्रिलमान्डोले दोस्रो हाफमा गरेको गोलको मदतले बायर लेभरकुजनले जर्मन बुंडेसलिगामा मंगलबार मेन्जलाई १–० ले हरायो र शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी एक अंकमा छोट्यायो ।
बायर्नको १६ खेलबाट ३९ अंक छ भने लेभरकुजनको एक खेल बढी खेलेर ३८ अंक छ । जाभी एलोन्सोको डिफेन्डिङ च्याम्पियनले मेन्जविरुद्धको खेल पूर्णतः आफ्नो नियन्त्रणमा राखे पनि थप गोल भने निकाल्न सकेन् ।
लेभरकुजनको सबै खाले प्रतियोगितामा गरेर यो लगातार दसौं जित हो । मंगलबारकै अर्को खेलमा बोरुसिया डर्टमुन्ड होलस्टेन केलको हातबाट ४–२ ले पराजित रह्यो । यो हारले प्रशिक्षक नुरी सहिनमाथि चर्को दबाब सिर्जना भएको छ ।
यस्तै इन्ट्राख्ट फ्रायन्कफर्टले फ्रेबर्गलाई घरमा सजिलै ४–१ ले पराजित गर्यो ।
