६ टोलीबीचको प्रतिस्पर्धा शुक्रबारदेखि, नेपाली ६६ र विदेशी १८ खेलाडी
काठमाडौँ — कागजमा कतै नभए पनि बोलीचालीमा कबड्डी नेपालको राष्ट्रिय खेल थियो । भलिबल औपचारिक रूपमै नेपालको राष्ट्रिय खेलका रूपमा सूचीकृत भएपछि कबड्डी नेपालको बोलीचालीको राष्ट्रिय खेलबाट पनि हराइसकेको छ ।
‘हामी नेपालको कबड्डीलाई पहिचान दिन खोजिरहेका छौं,’ पहिलो पटक नेपाल कबड्डी लिग (एनकेएल) को आयोजना गर्नुका कारण अमितकुमार बेगानी दिँदै थिए । एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख हुन्, उनी । दक्षिण एसियामा लोकप्रिय रहेका कारण पनि कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्न लागेको कारण उनी दिँदै थिए ।
१९ औं एसियाली खेलकुद २०२२ (हाङचोउ) मा महिला टिमले ऐतिहासिक कांस्य पदक जितेयता नेपालमा कबड्डीको चर्चा पुनः सुरु भएको छ । नेपालमा कबड्डी खासै लोकप्रिय खेल होइन । तर, करोडौं लगानीमा एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्ड हलमा शुक्रबार सुरु हुँदै छ ।
फ्रेन्चाइज टिमको प्रतियोगिताको अवधारणाअनुरूप ६ सहरका ६ टिमले माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्ने कबड्डीमा प्रतियोगिताकै कमी भइरहेको स्थितिमा करोडौं लगानी किन गरियो ? बेगानीले व्यापारिक हिसाबमै भने, ‘यो बिजनेस होइन, विशुद्ध रूपमा देशको पहिचानलाई अगाडि लग्नका लागि हो । कबड्डी विकासका लागि हो । एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक बनाउन सक्छ र यसैका लागि लगानी गरिएको हो ।’
विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’ हाँकिरहेका बेगानीले पहिलो संस्करणको आयोजनामा तीन करोड रुपैयाँ बढी खर्च हुने पनि बताए । कबड्डीको प्रतियोगिता पनि कमै भइरहेको अवस्थामा गरिएको लगानीबारे उनले थपे, ‘हामी खेल्दा कबड्डीलाई राष्ट्रिय खेल नै भन्थ्यौं, खेल्थ्यौं । हाम्रो भविष्य खेलमा बन्न सक्छ । एनपीएल (नेपाल प्रिमियर लिग क्रिकेट) ले अन्य खेलको फ्रेन्चाइज लिगका लागि राम्रो वातावरण सिर्जना गरेको छ । भलिबल र फुटबल पनि राम्रो भइरहेको छ । कबड्डीमा पनि भविष्य देखेको छु ।’ अरू खेलले प्राथमिकता पाएपछि विकास र विस्तारको रफ्तार बढेको उल्लेख गर्दै बेगानीले एनकेएलको तयारीमा अनुसन्धान गर्दा नेपालमा कबड्डीको २०–२५ हजार बढी खेलाडी पाइएकाले पनि यता लाग्न प्रेरित गरेको जनाए ।
भूगोल सुहाउँदो खेल
‘कबड्डी तराई र पश्चिममा बढी लोकिप्रय छ, काठमाडौंमा पनि खेल्छ र यो खेल दक्षिण एसियामा भूगोल सुहाउँदो छ,’ उनले भने, ‘भारतमा क्रिकेटपछि सर्वाधिक हेरिने खेल कबड्डी नै हो, फुटबलभन्दा माथि गइसक्यो । इरानपछि कबड्डीमा भारत दोस्रो ठूलो राष्ट्र हो, हाम्रा खेलाडीले पनि भारतमा खेल्न पाउनुपर्छ । त्यसका लागि वातावरण बनाउन एनकेएलको आयोजना गरिरहेका छौं । अनि देशका लागि खेल्दा मन बलियो हुन्छ, टिम बलियो हुन्छ ।’
एनकेएलमा उठाउन गाह्रो देखिएको लगानीबारे फेरि बोले, ‘लगानी फिर्ती गर्ने माध्यम एउटा जोस वा सन्तुष्टि हुन्छ । अर्को आर्थिक पनि । यी दुईमध्ये कुन पक्षलाई लिने भन्ने हो । १–२ वर्ष लिगका लागि लगानी हो । कुनै हिसाबले लगानी आइहाल्छ ।’ एनकेएलका ६ टिमलाई कर्पोरेट हाउससँग जोड्दै बिक्री गरिएको उल्लेख गर्दै टिमको स्वामित्वबारे सार्वजनिक गर्दै जाने पनि उनले बताए ।
१० वर्षे सम्झौता
बेगानीका अनुसार प्रत्येक फ्रेन्चाइज टिम ३५ लाख रुपैयाँमा बिक्री गरिएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टले अखिल नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गर्दै एनकेएल आयोजनाको संघारमा ल्याइपुर्याएको हो । संघसँग सम्झौता गत वर्ष भए पनि सबै कुराको तयारीले आयोजनामा ढिलाइ भएको बेगानी बताउँछन् ।
‘सबै खेलको मिश्रण कबड्डीमा पाइन्छ, जुन छोटो–मीठो छ, ४० मिनेटमै खेल सकिन्छ,’ बेगानीले भने, ‘हामीले नेपाली कबड्डीको स्तर उकास्नुपर्छ । स्तर वृद्धि नगरे आकर्षण बढ्दैन । विश्वस्तरमै पुर्याउन सक्नुपर्छ । त्यसैले एनकेएललाई स्तरीय बनाउन कुनै पनि सम्झौता नगरी लगानी गरिरहेका छौं । यो लगानी विशुद्ध नेपाली कबड्डीको विकास र प्रवर्द्धनका लागि हो ।’
उनी आफैंले लामो समय स्क्वास, ब्याडमिन्टन, टेबलटेनिसलगायत थुप्रै खेल खेलेका छन् । भारतको प्रो कबड्डी लिगबाट प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षक ल्याएर फ्रेन्चाइज टिम तथा प्राविधिक जनशक्तिलाई प्रशिक्षण दिइरहेको पनि उनले बताए । नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी पनि छन् । पछिल्ला दुई सिजन हरियाणा स्टिलर्समा बिताएका घनश्याम हालै मात्र प्रो कबड्डी लिग च्याम्पियन भएपछि एनकेएल खेल्न काठमाडौं आएका छन् ।
८४ खेलाडी
एनकेएलका सबै टिम प्रशिक्षक र मार्की खेलाडी घोषणा गर्दै दुई सातायता बन्द प्रशिक्षणमा छन् । एनकेएलमा ड्राफ्टबाट ६ टिमले नेपाली ६६ र विदेशी १८ खेलाडी लिएका छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । एक टिममा विदेशी खेलाडी संख्या दुईदेखि चार जनासम्म रहेका छन् । थाइल्यान्डका ६, बंगलादेशका ६, श्रीलंकाका ३ र अफ्रिकी मुलुक केन्याका ३ खेलाडीले एनकेएल खेल्दै छन् ।
विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले एनकेएलको पहिलो सिजन खेल्दै छन्, जसमा राउन्ड रोबिन लिग र नकआउटमा गरी कुल १९ खेल हुनेछ । लिगका शीर्ष चार टिम नकआउट प्रवेश गर्नेछन् । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्ने छन् ।
