काठमाडौँ — स्पेनी ला लिगामा रियल सोसिडाडले सोमबार भिल्लारियललाई १–० ले हराएको छ । जितसँगै सोसिडाड २८ अंकमा सातौं स्थानमा उक्लेको छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राख्न सफल रह्यो ।
भिल्लारियल भने ३० अंकमै सीमित रहेर पाँचौं स्थानमा रह्यो । आफ्नो घरेलु मैदान रियल रेनामा प्राप्त सोसिडाडको जितमा जापानी खेलाडी ताकेफुसा कुबोल ५१ औं मिनेटमा निर्णायक गोल गरे ।
हारले भिल्लारियलले शीर्ष चारका लागि गरिररहेको प्रयासमा धक्का पुगेको छ । एथलेटिको बिलबाओ ३६ अंकमा चौथो स्थानमा छ र उसलाई भिल्लारियलमाथि छ अंकको अग्रता प्राप्त भएको छ ।
इटाली
इटालीको सिरी ए मा सोमबार भएको खेलमा मोन्जाले फियोरेन्टिनालाई २–१ ले हराएर स्तब्धपूर्ण नतिजा सम्भव पारेको छ । लिग तालिकाको पुछारमा रहेको मोन्जाका लागि प्याट्रिक कुरिया र ड्यानिएल माल्दिनीले गोल गरे ।
फियोरेन्टिनाका तर्फबाट लुकास बेलट्रानले पेनाल्टीबाट एक गोल फर्काए । मोन्जाको अब १३ अंक भउको छ र २० टिममध्ये सबैभन्दा पुछारमा छ । फियोरेन्टिना भने ३२ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो ।
