आर्मी ३–० बागमती
काठमाडौँ — एन्फा वुमेन्स लिगमा अब नतिजाहरू अपेक्षित हुन थालेका छन् र यो क्रम सोमबार पनि जारी रह्यो । त्रिभुवन आर्मी क्लबले बागमतीमाथि प्राप्त गरेको तीन गोलको जित नियमित प्रक्रियाको खेलजस्तै मात्र रह्यो । खालि के मात्रै रह्यो भने यो जितमा पनि आर्मीको संघर्ष लुकेको भने थियो ।
यो जितपछि आर्मीको पाँच खेलबाट १० अंक भएको छ । एक दिनको विश्रामपछि महिला लिगको दोस्रो चरणको अन्तिम १० खेल सुरु भएको छन् र त्यसको पहिलो खेलमा आर्मी अपेक्षित तीन अंक बटुल्न सफल रहेको हो । बागमती भने तीन अंकमा कायम रह्यो र चौथो स्थानमा रह्यो । हारका बाबजुद बागमतीको खेलबाट केही आस गर्ने ठाउँ बनेको छ ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा आर्मीका लागि सपना लामाले छैटौं मिनेटमा पहिलो गोल गरिन् । विमला चौधरीको क्रसलाई उनले पोस्टको दिशा दिएकी थिइन् । त्यसपछि पुनम जर्घामगरले २२ औं मिनेटमा दोस्रो गोल थपिन् । उनको प्रहारले बाक्लो ‘डिफ्लेक्सन’ लिएर पोस्टको दिशा लिएको थियो ।
उनको यो गोलको सबैभन्दा ठूलो विशेषता रह्यो, लिगको दोस्रो चरणको ५० औं गोल । त्यसपछि खेलको लामै समय दुवै टिम स्पष्ट अवसर सिर्जना गर्न असफल रहे । दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा चन्द्रा भण्डारीले तेस्रो गोल गरिन् ।
प्रतिस्पर्धाको ‘प्लेयर अफ द म्याच’ विमला चौधरी रहिन् । उनले नै पहिलो र तेस्रो गोलका लागि अवसर सिर्जना गरेकी थिइन् । तर उनी नै पहिलो हाफमा पेनाल्टीमा भने चुकिन् । यो ३४ औं मिनेटमा भएको थियो । सम्भवतः यसमा गोल निस्केको भए, गोल अन्तर बढी हुन सक्ने थियो । आर्मी पछिल्लो खेलमा एपीएफको हातबाट पराजित भएपछि उपाधि दौडमा कमजोर बनेको थियो । अब मंगलबार हुने खेलमा पुलिसले वालिङको सामना गर्नेछ ।
